खिजी चण्डेश्वरी विमानस्थल परीक्षण उडानपछि जंगलमा परिणत

जङ्गल भएकाे विमानस्थल । तस्वीर: एसबी जेराे

ओखलढुंगा । ठूलो अपेक्षा र उत्साहका साथ निर्माण गरिएको खिजी चण्डेश्वरी विमानस्थल परीक्षण उडानपछि अलपत्र अवस्थामा पुगेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित विमानस्थल नियमित सञ्चालनमा आउन नसक्दा अहिले धावनमार्गदेखि संरचनासम्म जंगलले ढाकिन थालेको छ ।

२०७६ साल पुस ७ गते तारा एयरको ट्विनअटर विमानले सफल परीक्षण उडान गरेपछि स्थानीयवासीमा ठूलो उत्साह देखिएको थियो । खिजी क्षेत्र सगरमाथा प्रवेशद्वार बन्ने, पर्यटन व्यवसाय फस्टाउने, यातायात सेवा सहज हुने र स्थानीय उत्पादनले बजार पाउने अपेक्षा गरिएको थियो । तर परीक्षण उडान भएको सात वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

हाल विमानस्थलको धावनमार्ग वरिपरि उत्तिस र एेसेलु उम्रिएका छन् । निर्माण गरिएका केही संरचना जीर्ण बन्दै गएका छन् भने नियमित संरक्षण अभावमा पूर्वाधार बिग्रिँदै गएको स्थानीयको गुनासो छ ।

२०७६ मा तारा एयरले गरेको परीक्षण उडान।

विमानस्थल निर्माण प्रक्रिया आर्थिक वर्ष २०६३/०६४ मा सुरु गरिएको थियो । त्यसपछि चरणबद्ध रूपमा धावनमार्ग निर्माण, माटो कटिङ, फिलिङ तथा ड्रेन निर्माणको काम अघि बढाइएको थियो । ग्राभेल तथा अन्य पूर्वाधार निर्माणका लागि २०७३ फागुन २४ गते गाल्भा–निसान–पूर्णिमा जेभीसँग भ्याटसहित २ करोड ५ लाख ३३ हजार ७४० रुपैयाँमा सम्झौता गरिएको थियो । निर्माणमा ढिलाइ भएपछि पटक–पटक म्याद थप गरिएको थियो ।

विमानस्थलमा ५८० मिटर लामो र २० मिटर चौडा ग्राभेल धावनमार्ग तथा दुईवटा ट्विनअटर विमान पार्किङ गर्न मिल्ने एप्रोन निर्माण गरिएको छ । तर कालोपत्रे, यात्रु प्रतीक्षालय, सुरक्षा पोस्ट र पहिरो नियन्त्रण लगायतका संरचना अझै निर्माण हुन सकेका छैनन् ।

खिजीदेम्बा गाउँपालिकाले संघिय सांसद विश्वराज पोखरेल मार्फत विमानस्थल सञ्चालनका लागि संघीय सरकारसँग थप २० करोड रुपैयाँ माग गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पा का अनुसार विमानस्थल कालोपत्रे, टर्मिनल भवन तथा सुरक्षा संरचना निर्माणपछि मात्रै नियमित उडान सम्भव हुनेछ ।

कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीपकुमार सुनुवारले खिजी चण्डेश्वरी विमानस्थल सञ्चालनमा आए मन्थली र सोलुखुम्बुका विमानस्थलको चाप कम गर्न सहयोग पुग्ने बताएका छन् । उनका अनुसार सगरमाथा क्षेत्रमा आउने पर्यटकका लागि यो वैकल्पिक हवाई मार्ग बन्न सक्छ । यसका लागि पहल गर्ने मन्त्री सुनुवारको भनाई छ ।

समुद्री सतहबाट करिब २ हजार ७० मिटर उचाइमा रहेको यो विमानस्थल सञ्चालनमा आए खिजीदेम्बा हुँदै सगरमाथा क्षेत्र जोडिने नयाँ पर्यटन मार्ग खुल्ने अपेक्षा गरिएको छ । तर वर्षौँसम्म सञ्चालनमा आउन नसक्दा स्थानीयले राज्यको लगानीमाथि प्रश्न उठाउन थालेका छन् ।

जिल्लाको अर्को रुम्जाटार विमानस्थलमा पनि हप्तामा एक दिन मात्रै उडान हुने गरेको छ । यात्रु अभावका कारण त्यो सेवा समेत नियमित हुन सकेको छैन ।