ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नम्बर–८ सल्लेरीका ३० जना कृषकलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक कृषि प्रवर्द्धन तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले बुधबार सामाग्री वितरण गरिएको हो ।
नगरपालिका र कृषकको संयुक्त लगानीमा दुई लाख ६४ हजार रुपैयाँ बराबरका कृषि सामाग्री वितरण गरिएको भिम बहादुर दर्जीले बताए । उनका अनुसार नगरपालिकाको एक लाख ५० हजार रुपैयाँ र कृषकहरूको एक लाख १४ हजार रुपैयाँ लगानी रहेको छ ।
कृषकलाई ३००, ५०० र ५० लिटर क्षमताका ड्रम, पाइप, हजारी तथा टनेल पाल लगायतका कृषि सामाग्री उपलब्ध गराइएको छ । यस्ता सामाग्रीले सिँचाइ व्यवस्थापन तथा तरकारी र फलफूल खेतीलाई सहज बनाउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पूर्वसूचना जारी गरी आवेदन माग गरेकोमा आवेदन पेश गरेका सिद्धेश्वरी कृषक समूह अन्तर्गतका कृषकलाई सामाग्री वितरण गरिएको हो । नगरपालिकाले आगामी दिनमा कृषकलाई व्यावसायिक कृषितर्फ प्रोत्साहन गर्ने जनाएको छ ।

प्रतिक्रिया