सिद्धिचरणका किसानलाई अनुदानमा स्याउका बिरुवा वितरण

भिजन समाचार
58
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का तीन समूह र एक प्रालीमा आबद्ध किसानलाई उच्च घनत्व (हाइडेन्सिटी) प्रविधिमा आधारित स्याउका बिरुवा वितरण गरिएको हो ।

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट अन्तर्गत ७५ प्रतिशत नगरपालिकाको र २५ प्रतिशत किसानको लगानीमा कुल ७ लाख ५० हजार रुपैयाँ बराबरका बिरुवा वितरण गरिएको नगरपालिकाका कृषि शाखाका बाली विकास अधिकृत भिमबहादुर दर्जीले जानकारी दिए ।

उनका अनुसार गाला, फुजी र गोल्डेन डेलिसियस जातका स्याउका बिरुवा किसानलाई उपलब्ध गराइएको हो । पत्ताले क्षेत्रमा राम्रो स्याउ उत्पादन भइरहेको अवस्थालाई आधार मानेर वडा नम्बर ५, ६ र ७ का माथिल्लो भेगमा परीक्षणका रूपमा स्याउ खेती विस्तार गर्न लागिएको जनाइएको छ ।

पहिलो पटक सुरु गरिएको स्याउ खेतीका लागि बिरुवा रोपण तथा व्यवस्थापनमा प्राविधिक सहयोग समेत नगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।

यसअघि नगरपालिकाले तल्लो भेगका कृषकलाई सुन्तला, कागती लगायत फलफूलका बिरुवा वितरण गर्दै आएको थियो । यस वर्ष भने वडा नम्बर ६ को पहलमा माथिल्लो भेगको हावापानी सुहाउँदो खेती विस्तार गर्ने उद्देश्यले स्याउ खेती कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।