ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा काठ ढुवानी गर्ने ट्रकका कारण सडकमा क्षति पुगेपछि गाउँपालिकाले काठ निकासीमा अस्थायी रोक लगाएको छ ।
गाउँपालिकाले आज सूचना जारी गर्दै जेठको पहिलो सातादेखि असोज मसान्तसम्म काठ निकासी कार्य पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो । वर्षायाममा ठूला मालवाहक ट्रक सञ्चालन हुँदा सोलिङ गरिएको सडक भत्किने, यातायात सेवा प्रभावित हुने तथा सर्वसाधारणको आवागमनमा समस्या बढ्ने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।
अध्यक्ष शेर्पाका अनुसार काठ निकासीकर्ता तथा व्यवसायीहरूले तयारी अवस्थामा रहेका सबै काठहरू यही जेठ ६ गतेभित्र निकासी गरिसक्नुपर्नेछ ।
गाउँपालिकाले सडक संरक्षण, नियमित यातायात सञ्चालन र नागरिकको सहज आवागमनलाई प्राथमिकतामा राखेर निर्णय गरिएको जनाएको छ । यद्यपि गाउँपालिकाबाट सञ्चालित योजना, आयोजना तथा ठेक्का व्यवस्थापनका लागि आवश्यक निर्माण सामग्री ढुवानीमा भने रोक लागू नहुने स्पष्ट पारिएको छ ।
सूचनाको उल्लङ्घन गरेमा गाउँ कार्यपालिकाको निर्णय अनुसार आवश्यक कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ ।
स्थानीय तहको यो निर्णयले वर्षायाममा दुर्गम सडक सञ्जाल संरक्षण गर्न तथा स्थानीय जनजीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया