शहरमा बेघर बनाइएका नागरिकलाई हलेशीमा आवास सहयोग

भिजन समाचार
82
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासी बस्तीमा वर्षौंदेखि संघर्षपूर्ण जीवन बिताइरहेका तथा हालै संघीय सरकारको निर्णयबाट बस्ती हटाइएपछि विस्थापित भएका नागरिकलाई खोटाङ्गको हलेसी तुवाचुङ नगरपालिकाले आवास निर्माणमा सहयोग गर्ने भएको छ ।

नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले आफ्नो जन्मथलो फर्किन इच्छुक तर आफ्नै जग्गा हुँदाहुँदै पनि बसोबासका लागि घर नभएका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाकी मेयर बिमला राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै कठिन परिस्थितिमा गाउँ फर्किन चाहने नागरिकलाई सुरक्षित आवासको अभावले चिन्ता र अन्योलमा नपर्न आग्रह गरेकी छन् ।

मेयर राईका अनुसार गाउँ फर्किने इच्छुक परिवारलाई सम्मानपूर्वक बसोबासको वातावरण तयार गर्न नगरपालिकाले आवश्यक सहजीकरण र सहयोग गर्नेछ ।

उनले फेसबुकमा लेखेकी छन्, “आउनुहोस्, आफ्नै गाउँको माटोमा सम्मानपूर्वक जीवन यापन गर्दै हाम्रो गाउँ, हाम्रो पहिचान र उज्ज्वल भविष्य निर्माणका लागि नयाँ यात्रा सुरु गरौं।”

नगरपालिकाको यस निर्णयले शहरबाट विस्थापित भई असुरक्षित अवस्थाबाट गुज्रिरहेका स्थानीयलाई गाउँमै पुनःस्थापना भई स्थायी बसोबास गर्न राहत पुग्ने अपेक्षा गरिएको छ ।