ओखलढुंगा । वर्षायाममा पटक–पटक अवरुद्ध हुँदै आएको मोलुङ गाउँपालिका–३ प्राप्चास्थित खाल्टे खोलामा सडक मर्मत कार्य सम्पन्न गरिएको छ । सडकको दिगोपन र सुरक्षित आवागमन सुनिश्चित गर्न खोलाको किनार क्षेत्रमा तारजाली (ग्याबियन) जडान गरिएको हो ।
सडक अवरुद्ध हुँदा स्थानीयवासीको दैनिक आवत–जावत, कृषि उत्पादनको ढुवानी तथा आपतकालीन सेवामा समस्या हुँदै आएको थियो । यही अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरेपछि मर्मत कार्य अघि बढाइएको हो ।
गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट छुट्याएको छ भने स्थानीयवासीले करिब १ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । कुल ६ लाख रुपैयाँ लागतमा खाल्टे खोलाको किनार क्षेत्रमा ६६ वटा तारजाली भरिको छ ।
गत वर्ष सडक विस्तारका क्रममा कमजोर बनेको भू–संरचनाका कारण वर्षायाममा माटो बगेर पहिरो जाँदा सडकमा क्षति पुगेको थियो । अहिले भने सोही जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन समाधानतर्फ पहल गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए ।
तारजाली जडानपछि बाढी र पहिरोका कारण सडक अवरुद्ध हुने समस्या घट्ने अपेक्षा गरिएको छ । यसले सवारी सञ्चालनलाई सहज बनाउनुका साथै स्थानीयको दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया