करेन्ट लागेर जलेकी रत्नमायाको उपचारमा आर्थिक अभाव


ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिका–३ दियालेकी ७२ वर्षीया रत्नमाया श्रेष्ठ करेन्ट लागेर गम्भीर घाइते भएपछि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छिन् । उनको अवस्था गम्भीर रहेको छ भने हाल आइसियुमा राखेर उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।

गत चैत ३० गते दिउँसो घर नजिकैको बारीमा बाँधिएको बाख्रा फुकाउन जाँदा हाइटेन्सन लाइनको लत्रिएको बिजुली तारले छोएपछि उनलाई करेन्ट लागेको थियो । सोही घटनामा एउटा बाख्राको समेत मृत्यु भएको थियो । करेन्ट लाग्दा उनको बाँया हात, खुट्टा र कम्मरमा गम्भीर जलन भएको थियो ।

उपचारका क्रममा चिकित्सकले उनको एउटा हात काट्नुपरेको छ भने शरीरका विभिन्न भागमा पटक–पटक शल्यक्रिया भइरहेको छ । हाल पनि उनको अवस्था जटिल रहेकाले आइसियुमा राखेर उपचार जारी राखिएको छ ।

घाइतेका छोरा दिपेश श्रेष्ठका अनुसार अस्पतालले अझै धेरै चरणमा शल्यक्रिया गर्नुपर्ने जनाएको छ । दैनिक २० हजारदेखि ५० हजार रुपैयाँसम्म खर्च भइरहेको र औषधि, परीक्षण तथा अन्य उपचार अत्यन्त महँगो भएकाले खर्च धान्न परिवारलाई निकै कठिन भइरहेको उनले बताए ।

रत्नमायाको परिवार आर्थिक रूपमा कमजोर रहेको छ । उनका पति दीर्घरोगी छन् भने अर्को छोरा दिनेश शारीरिक रूपमा अपाङ्गता भएका छन् । यस्तो अवस्थामा ठूलो उपचार खर्च जुटाउन परिवारलाई झन् समस्या परेको छ ।

हालसम्म स्थानीय तहबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने पत्रकार शिव ढुंगाना लगायतको पहलमा जनस्तरबाट करिब चार लाख रुपैयाँ संकलन भइसकेको छ । तर निरन्तर उपचारका लागि उक्त रकम अपुग हुँदै गएको दिनेश श्रेष्ठले जानकारी दिए ।

यता, नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण दुर्घटना भएको पीडित परिवार र स्थानीयको आरोप छ । प्राधिकरणबाट हालसम्म कुनै उपचार खर्च वा क्षतिपूर्ति नपाइएको उनीहरूको भनाइ छ । वडा अध्यक्ष भिष्म श्रेष्ठका अनुसार घटनाबारे मुचुल्का उठाएर सम्बन्धित निकायमा पठाइएको छ र प्राधिकरणलाई आवश्यक दबाब दिइँदै आएको छ ।

स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा पीडितलाई तत्काल उपचार खर्च र उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेकाले रत्नमायाको जीवनरक्षाका लागि परिवारले थप सहयोगका लागि अपिल गरेको छ ।

प्राधिकरण भन्छ, छानविन हुदैछ

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ओखलढुंगाका प्रमुख रुपेश कुमार यादवले भने आफुहरुले प्रदेश कार्यालयमा सिफारिस गरे अनुसार घटनाबारे छानबिनका लागि समिति गठनको प्रक्रियामा रहेको बताए ।

केन्द्रको छानबिन समितिले गरेको सिफारिसका आधारमा थप प्रक्रिया अघि बढने बताएका छन् । प्रक्रियागत अनुसार एक साता भित्र पत्र पढाउनुपर्नेमा आफुहरुले तीन दिनमै प्रदेशमा पत्र पठाएको प्रमुख यादवले बताएका छन् ।