ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


ओखलढुंगा । राष्ट्रिय खोप कार्यक्रमअनुसार जिल्लाका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख मनिषा मोक्तानका अनुसार जिल्लाका आठ वटै स्थानीय तहका ७५ वडामा १६ देखि ५९ महिना उमेर समूहका ४ हजार ७०५ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप प्राप्त गरेका छन् । साथै जन्मदेखि १५ महिना उमेर समूहका सबै बालबालिकाले पनि उमेर अनुसार नियमित खोप पाइसकेको पुष्टि गरिएको छ ।

जिल्लाका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले ओखलढुंगालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । उनले खोप कार्यक्रमलाई दीगो बनाउँदै जनस्तरसम्म सचेतना अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

अभियान सफल बनाउन योगदान पु¥याउने आठ वटै पालिकाका उत्कृष्ट स्वास्थ्यकर्मीहरूलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरिएको छ भने पालिकाहरूलाई पनि सम्मान गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज बानियाँले जानकारी दिए ।

खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्ने भएकाले सबै पक्षको सहकार्यमा पूर्णखोप सुनिश्चितता हासिल गरिएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन उमा गुरुङले बताइन् । उनका अनुसार यो उपलब्धि जिल्लाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

पूर्णखोप घोषणा एकपटक मात्रै हुने प्रक्रिया नभई निरन्तरता आवश्यक पर्ने कार्यक्रम हो । हरेक वर्ष जन्मिने नयाँ बालबालिकाले पनि खोपको सबै मात्रा पाएको सुनिश्चित गरेपछि मात्र दिगोपना कायम रहने व्यवस्था रहेको छ ।

स्थानीय तहका वडास्तरबाट स्वास्थ्यकर्मीको सक्रियतामा घरघर सर्वेक्षण गरी खोप नपाएका बालबालिकालाई तत्काल खोप लगाउने व्यवस्था मिलाइएको थियो । यसरी सबै वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि पालिका र अन्ततः जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।