ओखलढुंगा । जिल्लामा छ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरिँदैछ । राष्ट्रिय कार्यक्रम अन्तर्गत बैशाख ६ र ७ गते जिल्लाभरका बालबालिकालाई लक्षित गर्दै उक्त अभियान सञ्चालन हुन लागेको हो ।
स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका जनस्वास्थ्य निरीक्षक नवराज बानियाका अनुसार अभियानमा ६ देखि ५९ महिनासम्मका ६ हजार ४८० बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५९ महिनासम्मका ५ हजार ६३० बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
बालबालिकामा कुपोषणको जोखिम न्यूनीकरण गर्दै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम र २०५८ सालदेखि जुकाविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन हुँदै आएको छ । प्रत्येक वर्ष दुई पटक सञ्चालन हुने यस कार्यक्रमलाई बाल स्वास्थ्य सुधारको प्रभावकारी उपायका रूपमा लिइन्छ ।
यसपटकको अभियान सफल बनाउन जिल्लाभर ६७० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछन् । अभियानका क्रममा स्वयंसेविकाले बालबालिकाको पाखुराको मापनसमेत गरी पोषण अवस्थाको प्रारम्भिक मूल्यांकन गर्नेछन् ।
स्वास्थ्य कार्यालयले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा स्वयंसेवीको सक्रिय सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया