सिद्धिचरणका वडातहमै गर्भवतीलाई अल्ट्रासाउन्ड सेवा

भिजन समाचार
74
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले ग्रामीण क्षेत्रका गर्भवती महिलालाई लक्षित गर्दै वडातहमै घुम्ती अल्ट्रासाउन्ड सेवा सञ्चालनमा ल्याएको छ । गाउँ–गाउँमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने उद्देश्यसहित नगरपालिकाको स्वास्थ्य शाखाले सेवा सुरु गरेको हो ।

स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने झन्झट, आर्थिक अभाव र यातायातको कठिनाइका कारण नियमित गर्भ जाँचबाट वञ्चित हुनुपरेका महिलालाई लक्षित गर्दै यो सेवा विस्तार गरिएको नगरपालिकाले जनाएको छ । मातृ तथा शिशु मृत्युदर घटाउने लक्ष्यसहित सुरु गरिएको सेवाले ग्रामीण क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी शारदा राईका अनुसार हालसम्म ठुलाछाप, तलुवा, नारायणस्थान लगायतका वडामा पुगेर २० भन्दा बढी गर्भवती महिलाको अल्ट्रासाउन्ड परीक्षण गरिएको छ । सेवा पूर्ण रूपमा निःशुल्क रूपमा सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।

घुम्ती सेवामार्फत गर्भमा रहेको शिशुको अवस्था, उमेर, तौल, प्लासेन्टाको स्थिति, एम्नियोटिक तरलको मात्रा तथा मुटुको धड्कनजस्ता महत्वपूर्ण स्वास्थ्य सूचकहरूको जाँच गर्न सकिने भएकाले जोखिमपूर्ण गर्भावस्था समयमै पहिचान गर्न सहज भएको स्वास्थ्य शाखाको भनाइ छ ।

वडातहमै स्वास्थ्य सेवा विस्तार भएसँगै गर्भ जाँचका लागि टाढा धाउनुपर्ने बाध्यता हट्दै गएको छ । यसले मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।