ओखलढुंगा । जिल्लाका सबै आठ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । पछिल्लो पटक मोलुङ गाउँपालिकालाई घोषणा गरेसँगै जिल्लाभरका सबै पालिकाले पूर्ण खोप सुनिश्चितताको अवस्था हासिल गरेका हुन् । ‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा प्रक्रिया सम्पन्न गरेको हो ।
मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले पालिकाका सबै वडामा खोप पाउने उमेर समूहका बालबालिकाले पूर्ण खोप पाएपछि औपचारिक रूपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी र सरोकारवालाको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुम्जाटारकी खोप फोकल पर्सन उमा गुरुङले पूर्ण खोप सुनिश्चितता घोषणाको प्रक्रिया र खोपको महत्वबारे जानकारी गराइन् । उनका अनुसार जिल्लामा सबैभन्दा पहिले चम्पादेवी गाउँपालिका पूर्ण खोप पालिका घोषणा भएको थियो भने मोलुङ अन्तिम पालिकाको रूपमा घोषणा भएको हो ।
गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मित्रमिनु ढकालका अनुसार १६ देखि ५९ महिनासम्मका ५१६ बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप पाइसकेका छन् । साथै जन्मदेखि १५ महिनासम्मका १६० बालबालिकाले उमेरअनुसारको नियमित खोप सेवा लिइरहेका छन् । घोषणा कार्यक्रममा पालिकाका सबै वडालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
यसैबीच, आगामी वैशाख ८ गते ओखलढुंगालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ । जिल्ला खोप समन्वय समितिको बैठकले स्वास्थ्य कार्यालय रुम्जाटारमा विशेष कार्यक्रम आयोजना गर्दै सबै पालिका तथा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयकी प्रमुख मनिषा मोक्तानले जानकारी दिएकी छन् ।

प्रतिक्रिया