ओखलढुंगा । प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उद्देश्यले चिशंखुगढी गाउँपालिकामा आयाेजना गरिएकाे नागरिक सुनुवाइमा सहभागीले प्रहरीकाे प्रशंसा गरेका छन् । केही महिना अघि चिशंखुगढी–भदौरे क्षेत्रमा भएका घटनामा प्रहरीले गरेको सफल अनुसन्धान र अभियुक्त पक्राउप्रति सहभागीहरूले प्रहरीको खुलेर प्रशंसा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा गरिएकाे कार्यक्रममा स्थानीय नागरिकका गुनासा, समुदायका समस्या तथा प्रहरीले निर्वाह गर्नुपर्ने दायित्वबारे छलफल गरिएको थियो । गुनासा र जिज्ञासा कम मात्रामा आएका थिए ।
कार्यक्रमको सुरुवातमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी सहायक निरीक्षक विवश कुँवरले जिल्लामा भएका अपराध, दुर्घटना, त्यसबाट भएको मानवीय तथा आर्थिक क्षतिसम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए । साथै अपराध तथा दुर्घटना न्यूनिकरणका लागि प्रहरीले गरेका प्रयासबारे जानकारी गराइएको थियो ।
छलफलका क्रममा चिशंखुगढी–६ का वडा अध्यक्ष बलराम कटवाल लगायतले भदौरे घटनाको सफल अनुसन्धानप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि शान्ति सुरक्षा र अपराध अनुसन्धानमा थप सक्रियता देखाउन आग्रह गरेका थिए ।
यसैबीच अपांगता भएका व्यक्तिले सार्वजनिक सवारी साधनमा भाडा छुट नपाएको लगायत केही गुनासा तथा कानुनी जिज्ञासा पनि उठाइएका थिए । प्राप्त गुनासा र जिज्ञासालाई जिल्ला प्रहरी प्रमुख मदन केसी तथा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत मनोज कुमार मगरले सम्बोधन गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख केसीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, अपराध, दुर्घटना, आत्महत्या तथा लैंगिक हिंसा न्यूनिकरणका लागि प्रहरी सक्रिय रूपमा लागिरहेको बताए । नागरिक र प्रहरीबीचको सहकार्यबाट मात्रै अपराध नियन्त्रण सम्भव हुने उल्लेख गर्दै यस्ता कार्यक्रमको महत्व औंल्याए ।
प्रशासकीय अधिकृत मगरले प्रशासनले सुरक्षा निकायसँगको समन्वयमा नागरिकको जिउधनको सुरक्षामा काम गरिरहेको र सेवा प्रवाहलाई प्रविधिमैत्री तथा नागरिकमैत्री बनाउँदै लगिएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष निशान्त शर्माले सेवा प्रवाहमा कुनै गुनासो भए सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै स्थानीयस्तरमै यस्ता कार्यक्रम सञ्चालन हुनु सकारात्मक भएको धारणा राखे । प्रमुख प्रशासकीय अधिकृत मोतिहाङ लिम्बुले गुनासा कम आउनु सकारात्मक भए पनि सेवाग्राहीले सुधारका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, नेपाल पत्रकार महासंघ, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार यस्ता कार्यक्रमले सेवा प्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया