ओखलढुंगा । जिल्लामा मानसिक रोगका बिरामीहरूको संख्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय रुम्जाटारका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा मानसिक स्वास्थ्य समस्या भएका विरामीकाे संख्या बढेकाे देखिन्छ ।
कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा २७० जना रहेका मानसिक बिरामी ०८०/०८१ मा बढेर ५२२ पुगेका छन् भने २०८१/०८२ मा यो संख्या ९६३ पुगेको छ ।
जनस्वास्थ्य निरीक्षक नवराज बानियाले मानसिक रोगीको संख्या यसरी बढ्नु चिन्ताजनक रहेको बताउँदै समयमै पहिचान, उपचार र जनचेतना आवश्यक रहेको उल्लेख गरे।
जिल्लामा मानसिक रोगसँगै आत्महत्याका घटना पनि बढेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा २६ जनाले आत्महत्या गरेका थिए भने चालु वर्षमा हालसम्म ३२ जनाले ज्यान गुमाइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मानसिक तनाव, आर्थिक समस्या, पारिवारिक विवाद र वैवाहिक असन्तुलन आत्महत्याका प्रमुख कारणका रूपमा देखिएका छन् ।
मानसिक स्वास्थ्य सुधारका लागि उपचार, परामर्श सेवा विस्तार तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया