ओखलढुंगाको सुनकोशी गाउँपालिकामा एआइ प्रविधिमार्फत गरिएको क्षयरोग परीक्षणमा ३४ जनामा लक्षण देखिएको छ । हिजाे र आज दुई दिनसम्म २७५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण सँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।
क्षयरोग नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय ओखलढुंगाको समन्वय तथा सुनकोशी गाउँपालिकाको आयोजनामा परीक्षण तथा खोजी अभियान सञ्चालन गरिएको थियो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर कटवालका अनुसार परीक्षणका क्रममा ३४ जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिएको हो । लक्षण देखिएकाहरूलाई निःशुल्क औषधि उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
क्षयरोग रोकथामका लागि समयमै रोगी पहिचान, उपचार तथा आवश्यक सावधानी अपनाउनु प्रभावकारी उपाय भएकाले जिल्लाका अन्य पालिकामा पनि यस्ता अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।
यसैबीच, गाउँपालिकाको आयोजनामा सामुदायिक आँखा केन्द्र ओखलढुंगाको समन्वयमा निःशुल्क मोतिबिन्दु छनोट शिविर समेत सञ्चालन गरिएको छ । शिविरमा १९३ जनाको आँखाको परीक्षण गर्दा २३ जनामा अपरेशन गर्नुपर्ने गरी मोतिबिन्दु पहिचान भएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया