एचआइभी संक्रमितमाथिको विभेद र लाञ्छाना हटाउन सचेतना आवश्यक

भिजन समाचार
72
Shares

ओखलढुंगामा एचआइभी संक्रमितप्रति समुदायको दृष्टिकोण सकारात्मक बनाउन सरोकारवाला निकायहरू प्रतिबद्ध भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाको आयोजनामा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले एचआइभी संक्रमितलाई पनि अन्य रोगीसरह उपचार, माया, सम्मान र सहयोगको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा अस्पतालकी खोप फोकल पर्सन उमा गुरुङले एचआइभी रोग, सर्ने माध्यम, बच्ने उपाय, संक्रमितले अपनाउनुपर्ने स्वास्थ्य सावधानी तथा परिवार, समुदाय र सरोकारवालाको भूमिकाबारे प्रस्तुतीकरणमार्फत जानकारी गराएकी थिइन् ।

स्वास्थ्य कार्यालय रुम्जाटारकी प्रमुख मनिषा मोक्तान तामाङले एचआइभी संक्रमितलाई पनि अन्य बिरामीजस्तै माया, हेरचाह र सम्मानका साथ उपचार तथा रेखदेख गर्नुपर्ने बताइन् । अझै पनि समाजमा संक्रमितमाथि हेला, हेय, भेदभाव र लाञ्छना कायम रहेको उल्लेख गर्दै उनले यसलाई अन्त्य गर्न सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिइन् । एचआइभी असुरक्षित यौन सम्पर्कबाट मात्र नभई रगत, सिरिन्ज, गर्भ तथा अंग प्रत्यारोपणबाट पनि सर्न सक्ने भएकाले संक्रमितलाई सकारात्मक दृष्टिकोणले सहयोग गर्न समुदाय सचेत हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, उप–प्रमुख तारा कार्की, सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेत लगायतले एचआइभी पनि अन्य रोगसरह उपचार योग्य भएकाले संक्रमितलाई खुला रूपमा सेवा लिन सक्ने वातावरण बनाउन आफूहरू सक्रिय रहेको बताए ।

जिल्लामा हाल २० जना एचआइभी संक्रमितले एआरटी शाखाबाट नियमित उपचार सेवा लिइरहेको शाखा प्रमुख कुमारप्रसाद दाहालले जानकारी दिए । तीमध्ये १४ जना ओखलढुंगाका हुन् भने बाँकी सोलुखुम्बु र खोटाङ जिल्लाका रहेका छन् । संक्रमितहरूले कुनै समस्या बिना औषधि र उपचार सेवा पाइरहेको अस्पतालले जनाएको छ ।