लुकेका पीडा पहिचान गर्दै सुनकोशी: दुई दिनमै १७२ जनाको मानसिक स्वास्थ्य परीक्षण

भिजन समाचार
170
Shares

सुनकोशी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क मानसिक स्वास्थ्य शिविरले गाउँमा लुकेका पीडा सतहमा ल्याएको छ । करुणा फाउन्डेसन र गाउँपालिकाको सहकार्यमा मंगलबार र बुधबार सञ्चालन भएको शिविरमा १७२ जनाले मानसिक स्वास्थ्य सम्बन्धी सेवा लिएका छन् ।

वडा नम्बर–७ को स्वास्थ्य चौकी च्यानाममा पहिलो दिन ११७ जना सेवाग्राहीले मानसिक स्वास्थ्य परीक्षण गराएका थिए । तीमध्ये ४० जनामा औषधि आवश्यक ठहर गर्दै तत्काल उपचार सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर कटवालले जानकारी दिए ।

दोस्रो दिन वडा नम्बर–३ काे स्वास्थ्य चौकी सिस्नेरीमा आयोजित शिविरमा ५७ जनाले सेवा लिए । यहाँ ३२ जनालाई औषधि वितरण गरिएको छ ।

कटवालका अनुसार मानसिक समस्या देखिएकामध्ये कतिपय बिरामीलाई केही समय औषधि सेवन गरेपछि पूर्ण रूपमा निको हुने सम्भावना रहन्छ भने केहीलाई नियमित औषधि आवश्यक पर्छ । औषधि गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । दक्ष चिकित्सक मार्फत उपचार र परामर्श सेवा उपलब्ध गराइएकाे स्वास्थ्य शाखा प्रमुख कटवालले बताए ।

मानसिक स्वास्थ्यप्रति समाजमा अझै पनि खुलेर उपचारमा जान नचाहने प्रवृत्ति रहेकाले यस्ता शिविरले पीडितलाई समयमै उपचारको पहुँचमा ल्याउन सहयोग पुगेको कटवालकाे भनाइ छ । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिने उपाध्यक्ष सुनिता अधिकारीले बताइन् ।