ओखलढुंगामा पेट र घाँटीसम्बन्धी राेगबाट २४ हजार ४३३ जना प्रभावित

सांकेतिक तस्वीर।

ओखलढुंगामा पेटसम्बन्धी रोग ग्याष्ट्रिक र घाँटीसम्बन्धी रोग टन्सिल प्रमुख समस्याका रूपमा देखिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका अनुसार गत आर्थिक वर्षमा यी दुई रोगबाट मात्रै २४ हजार ४३३ जना नागरिक प्रभावित भएका छन् ।

स्वास्थ्य कार्यालय रुम्जाटारको वार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी देखिएको रोग ग्याष्ट्रिक रहेको छ । सो अवधिमा १५ हजार ३७८ जनाले एपीडी/ग्यास्ट्राइटिसका कारण स्वास्थ्य संस्थाबाट उपचार सेवा लिएका छन् भने टन्सिल तथा घाँटी दुख्ने र संक्रमणसम्बन्धी समस्या भएका बिरामीको संख्या ९ हजार ५५ रहेको छ ।

यस्तै, माथिल्लो श्वासप्रश्वास संक्रमणका ७ हजार १५ जना, तीव्र तथा तल्लो श्वासप्रश्वास संक्रमणका ६ हजार २६३ जना, झाडापखालाका ४ हजार ९४४ जना र आन्द्रामा जुकाको समस्या भएका ४ हजार १३८ जना बिरामीले उपचार सेवा लिएका छन् ।

त्यसैगरी, उच्च रक्तचाप (हाइपरटेन्सन) का ४ हजार ३ जना, फ्यारिन्जाइटिसका ३ हजार ४२३ जना, आँखा पाक्ने (कन्जन्क्टिभाइटिस) का ३ हजार ४५ जना तथा फंगल संक्रमणका २ हजार ६०७ जना बिरामी स्वास्थ्य संस्थामा पुगेको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाकी प्रमुख मनिषा मोक्तान तामाङका अनुसार समयमै खाना नखाने, धेरै मसलेदार तथा अमिलो खाना सेवन गर्ने, मदिरा र धूम्रपानको प्रयोग, लामो समय खाली पेट बस्ने र मानसिक तनावका कारण ग्यास्ट्राइटिसलगायत पेटसम्बन्धी समस्या बढ्दै गएका छन् ।

अस्वस्थ जीवनशैली, खानपानमा लापरबाही, सरसफाइको कमी र मौसमी प्रभावका कारण यस्ता रोगको चाप बढिरहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ । स्वास्थ्यकर्मीले सन्तुलित आहार, व्यक्तिगत सरसफाइ, नियमित स्वास्थ्य परीक्षण तथा सचेत जीवनशैली अपनाउन सके यस्ता रोगबाट बच्न सकिने बताएका छन् ।