खिजीदेम्बाको मितेरी वनमा रेड पाण्डा फेला

भिजन समाचार
420
Shares
फाईल तस्वीर।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–९ मा पर्ने मितेरी सामुदायिक वन क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) फेला परेको पुष्टि भएको छ ।

साविक पात्ले गाविस–४ को ताक्लुङ, नयाँवन र तारकेन आसपासको क्षेत्रमा रेड पाण्डा देखिएको भन्दै स्थानीय बासिन्दाले विगत केही वर्षदेखि बताउदै आएका थिए । जानकारीको आधारमा डिभिजन वन कार्यालय ओखलढुंगाले सो क्षेत्रमा रेड पाण्डाको फोटो, भिडियो, मलमूत्र, वासस्थान, चिन्ह तथा फुटप्रिन्टको परीक्षणका लागि टोली परिचालन गरेको थियो ।

डिभिजन वन कार्यालय प्रमुख मनराज राई, सव–डिभिजन वन कार्यालय खिजीदेम्बाका वन सहायक प्रमुख प्रमेश अधिकारी सहितको टोली केहि दिन फिल्डमै खटिएर अनुगमन तथा परीक्षण गरेको थियो । टोलीको अनुगमनपछि विज्ञको सल्लाह अनुसार उक्त क्षेत्रमा रेड पाण्डा रहेको पुष्टि भएको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख राईले बताए ।

यसअघि पनि वडा अध्यक्ष ङवाङफुरी शेर्पाले रेड पाण्डा नेटवर्क काठमाडौंलाई फोटो र विवरण पठाउँदा हाब्रे अर्थात रेड पाण्डा भएको पुष्टि भएको विज्ञले जानकारी दिएका थिए ।

यसको संरक्षणमा याेजना बनाएर लागिएकाे वडा अध्यक्ष शेर्पाले बताए । दुर्लभ वन्यजन्तु फेला पर्नु वडा, पालिका र जिल्लाकै गौरवको विषय भएको उल्लेख गर्दै उनले यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् ।

रेड पाण्डा फेला परेसँगै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ (२) ग (३७) अनुसार प्रमाणिकरण गरिएको छ । साथै रेड पाण्डाको संरक्षण, निगरानी तथा दिगो व्यवस्थापनमा सबै सरोकारवालालाई पहल गर्न आग्रह गरिएको छ ।