छ पालिकामा छैन दमकल, आगलागी जोखिम बढ्दै


ओखलढुंगाका आठ स्थानीय तहमध्ये छ वटा पालिकामा आगो निभाउने दमकल नरहेको पाइएको छ । सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिका बाहेक अन्य स्थानीय तह दमकल विहीन हुँदा आगलागी नियन्त्रणमा समस्या थपिएको हो ।

सिद्धिचरण नगरपालिकामा दुई वटा र खिजीदेम्बामा सहयोग स्वरूप प्राप्त एक वटा दमकल सहित तीन दमकल मात्रै जिल्लामा क्रियाशील छन् । अन्य पालिकाले कतिले खरिद प्रक्रिया अघि बढाएको दाबी गरे पनि धेरैले आवश्यक नै नपर्ने जिकिर गरेका छन् ।

मोलुङ गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाले भौगोलिक संरचना र सबै क्षेत्रमा सहजै दमकल पुगोस् भन्ने अवस्था नभएकाले हाल दमकल खरिदबारे कुनै प्रक्रिया अघि नबढेको बताइन् । चिशंखुगढी गाउँपालिकाका सूचना अधिकृत अस्मित राजभण्डारीले पनि सड़क अवस्था चुनौतीपूर्ण भएकाले तत्काल खरिदको योजना नरहेको जानकारी दिए ।

यता सुनकोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले दमकल नभए पनि सिद्धिचरण नगरपालिका सँग सम्झौता गरी आगलागी नियन्त्रणमा सहकार्य गर्ने तयारी भइरहेको बताए । लिखु गाउँपालिकाले पनि खिजीदेम्बासँग समन्वय गरेर आवश्यकता पर्दा दमकल सेवा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले जानकारी दिए । मानेभञ्ज्याङ र चम्पादेवी गाउँपालिकाले समेत दमकल खरिद प्रक्रिया सुरु नगरेको पाइएको छ ।

सरोकारवालाहरूले भने अनावश्यक खर्च कटौती गरेर भए पनि स्थानीय तहले दमकल, एम्बुलेन्सजस्ता महत्वपूर्ण उपकरण खरिदमा प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । जिल्लामा वर्षेनी आगलागीका घटना दोहोरिनुका कारण करोडौँको धनमाल क्षति हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै ७८ वटा आगालागीमा एक जनाको मृत्यु, एक जनाको चोटपटक सँगै ३४ पशुपन्छीको मृत्यु भएको थियो । दुई तोला सुन, दुई सवारीसाधन, घर–गोठ र ४१ घरपरिवार तथा ४३ वटा वनक्षेत्रमा आगलागी हुँदा करिब २ करोड २९ लाख ९ हजार ४ सय रुपियाँ बरावरको क्षति भएको थियो ।

चालु आर्थिक वर्षमा पनि हालसम्म सात वटा आगलागी घटना भइसकेका छन् । एक जनाको मृत्यु र एक जना घाइते भएका छन् भने अहिलेसम्म ८ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।