सिद्धिचरणका पाँच सवारी चालकको सामूहिक राजीनामा

भिजन समाचार
2.5k
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कार्यरत पाँच जना सवारी चालकले नगरपालिकाको एकलौटी निर्णयले आफूहरू अन्यायमा परेको भन्दै आइतबार सामूहिक राजीनामा दिएका छन् । नगरपालिकाले चालकमाथि परामर्शबिना गरेका निर्णय र पाउँदै आएको सुविधा कटौती गरिएको भन्दै उनीहरूले विरोधस्वरूप राजीनामा दिएका हुन् ।

हल्का सवारी, फोहोरमैला व्यवस्थापन र जेसिबी चालकले सामुहिक राजिनामा दिएका छन् ।

चालकहरूका अनुसार नगरपालिकाको हितकोषमा प्रत्येक चालकले तलबबाट एक–एक हजार गरी जम्मा गरेको दुई हजार रुपैयाँ नगरपालिकाले नदिने निर्णय गरेपछि आफूहरू बाध्य भएर राजीनामा दिनुपरेको बताएका छन् । वर्षौंसम्म हितकोषका नाममा रकम जम्मा ग¥यौं, तर अहिले आएर नदिने भनियो, यो सरासर अन्याय भएको सवारी चालक विनोद कटवालले बताए ।

यस्तै, हलुका सवारी चालकलाई पाउँदै आएको पाँच हजार र हेभी सवारी चालकलाई पाउँदै आएको छ हजार खाजा खर्चसमेत नगरपालिकाले एकलौटी रूपमा कटौती गरेपछि सामूहिक विद्रोह गर्नुपरेको चालकहरूको भनाइ छ ।

राजीनामा दिनेमा नगरपालिका प्रमुखका सवारी चालक अस्विन कुमार घिमिरे, फोहोमैला व्यवस्थापनका चालक तेन्जी शेर्पा, जेसिबी चालक महेश मगर, जेसिबी चालक पुष्पराज कटवाल र उपप्रमुखका चालक विनोद कटवाल रहेका छन् ।

उक्त विषयमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेलाई सम्पर्क गर्दा फाेन सम्पर्क भएन । नगरप्रमुख तेजन खनालले भने वार्तामार्फत विवाद समाधान गरिने बताएका छन् ।