सरकारी गाडी र स्रोत साधन दुरुपयोग विरुद्ध ज्यामिरेका युवाहरू

भिजन समाचार
2k
Shares

सरकारी गाडी र स्रोत साधनको दुरुपयोगविरुद्ध ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका युवाहरू संगठित भएका छन् । उनीहरूले जनप्रतिनिधि र सार्वजनिक पदाधिकारीहरूले सरकारी सवारी साधन र स्रोतको व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको भन्दै विरोध स्वरूप आवाज उठाएका हुन् ।

स्थानीय युवा मनमोहन श्रेष्ठ र निकेश खड्काले मेयर तेजेन्द्र खनाल सहित केही वडा अध्यक्षहरूले सरकारी गाडी दुरुपयोग गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार सार्वजनिक महत्वका विषयमा प्रश्न उठाउँदा उल्टै सामाजिक लाञ्छना, धम्की र दवावको सामना गर्नुपरेको छ । श्रेष्ठ र खड्काले आफूहरूलाई कुटपिट गरिएको, मोबाइल फुटाइएको र डर त्रास सिर्जना गरिएको दाबी पनि गरेका छन् ।

उनीहरूले प्रहरी र प्रशासनमा निवेदन दिएका भए पनि हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । शुक्रबार सदरमुकाम ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा युवाहरूले नगरपालिका र वडास्तरमा पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित गर्न माग गरेका छन् । साथै, तोकिएको समयभित्र मुद्दामा कारवाही नभए कानुनी बाटो अवलम्बन गर्ने चेतावनी पनि दिएका छन् ।

सुधार-सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतका अनुसार उक्त घटनाको सत्यतथ्य छानविनका लागि वडा नं. १० का वडा अध्यक्ष रमेश धमलाकाे संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । बस्नेतले सामाजिक संजाल मार्फत यस्ताे जानकारी दिएका हुन् ।

केही साता अघि ज्यामिरेका युवाहरुले मेयर खनाललाई बाटाेमा राेकेर विहेमा सवारी सञ्चालन गर्नुकाे कारण साेधेका थिए । उनि लगायत कांग्रेसका केही नेताहरु वडा नं.९ का अध्यक्ष गुणबहादुर खड्काकाे विवाहमा पुगेर फर्केका थिए । यस विषयमा खनालले सामाजिक सञ्जाल मार्फत स्पस्टीकरण दिसकेका छन् ।