ओखलढुंगामा परिक्षणको क्रममा एक सय जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्ममा सो संख्यामा संक्रमण पाइएको हो ।
कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ६५ जना पुरुष र ३० जना महिला गरी जम्मा ९५ जनामा क्षयरोग पाइएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म तीन पुरुष र दुई महिला गरी पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
विगत आर्थिक वर्षमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा संक्रमण पाइएको थियो भने सबैभन्दा कम चिशंखुगढी गाउँपालिकामा एक जनामा मात्र पुष्टि भएको कार्यालयले जनाएको छ । त्यसैगरी सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बा गाउँपालिकामा १४, मानेभन्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा ४ र मोलुङ गाउँपालिकाका २ जनामा क्षयरोग संक्रमण पाइएको थियो ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई–दुई जना तथा सुनकोशी गाउँपालिकाका एक जनामा संक्रमण देखिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
उनका अनुसार नियमित रुघाखोकी लागिरहनु, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु र खाना नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन् । स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिने व्यक्तिहरूलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन आग्रह गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले समुदायस्तरमा क्षयरोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

प्रतिक्रिया