पछिल्ला वर्षहरूमा ओखलढुंगामा मानसिक स्वास्थ्य समस्या भएका बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको छ । ओखलढुंगा सामुदायिक अस्पतालको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मात्र १६ जना र अघिल्लो वर्ष ९८ जना गरी कुल ११४ जनाले मानसिक स्वास्थ्य सेवा लिएका छन् ।
अस्पतालका निर्देशक डा. रोशन खरेलका अनुसार मानसिक सन्तुलन गुमाउने, अत्यधिक तनाव, निद्रा नआउने, चिन्ता, डिप्रेसन र मनो–सामाजिक समस्या भएका बिरामीले उपचार लिने क्रम बढ्दो छ । निर्देशक खरेलका अनुसार दैनिक जीवनका आर्थिक, पारिवारिक र सामाजिक दबाबका कारण मानिसहरूमा मानसिक समस्या बढ्दै गइरहेको छ, जसले आत्महत्यासम्मका घटना निम्त्याउने जोखिम पनि बढाएको छ ।
समयमै उपचार र परामर्श लिन सके अधिकांश मानसिक समस्या समाधान गर्न सकिन्छ । यसका लागि अस्पतालले मनोचिकित्सक, साइकियाट्रिक नर्स र काउन्सिलरहरूको टोलीमार्फत नियमित सेवा दिइरहेको डा. खरेलले बताए ।
अस्पतालका अनुसार बिरामीलाई आवश्यक परे औषधि उपचारसँगै मनोपरामर्श र परिवारलाई सचेतना दिने काम पनि गरिएको छ । पछिल्लो समय बेरोजगारी, वैदेशिक रोजगारीका चुनौती, सम्बन्ध विच्छेद, आर्थिक कठिनाइ र एकल जीवनशैलीका कारण ग्रामीण क्षेत्रमा समेत मानसिक स्वास्थ्य समस्या देखिन थालेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
यसैबीच, मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउन शुक्रबार विश्व मानसिक स्वास्थ्य दिवस जिल्लामा पनि मनाइएको छ । “मन स्वस्थ भए तन स्वस्थ रहन्छ” भन्ने सन्देशसहित आयोजित कार्यक्रममार्फत मानसिक समस्या लुकाउने होइन, उपचार र परामर्श गर्नुपर्ने सन्देश फैलाइएको छ ।

प्रतिक्रिया