परम्परा र परिवर्तनको दोभानमा ठुलाछापको सामूहिक ‘आरन’

भिजन समाचार
128
Shares
आरनमा काम गर्दै वडासदस्य लालबहादुर विक ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२, ठुलाछापको विश्वकर्मा टोलमा आज पनि फलाम पिट्ने आवाज गुन्जिन्छ । २०६१ सालमा तत्कालीन ठुलाछाप गाविस, सीएसपी र स्थानीयको सहकार्यमा बनेको सामूहिक आरन भवन दलित समुदाय, विशेषतः विश्वकर्मा जातिका लागि रोजीरोटीको महत्त्वपूर्ण आधार बनेको छ ।

वडा सदस्य तथा आरन व्यवसायी लालबहादुर विकका अनुसार, सामूहिक आरनले गाउँमा रोजगारी सिर्जना गरेको मात्र होइन, पुर्खौली पेशा संरक्षण गर्ने आधार पनि बनेको छ । “यो मेरो पुर्खौली पेशा हो । राजनीति गर्न थालेपछि पनि मैले यसलाई कहिल्यै छोडिन । काम गरेर खाने कुरा लाजको होइन, हाम्रो पहिचान हो,” उनले बताए ।

तीन कोठे सामूहिक आरन भवनमा सात घरधुरी निरन्तर काम गर्छन् भने अरुले आवश्यकता अनुसार प्रयोग गर्छन् । पहिले घर–घरमा साना आरन हुँदा पालो पर्खँदै दिन बित्थ्यो, तर सामूहिक आरनले त्यो समस्या समाधान गरेको छ ।

पहिलेको ‘बाली प्रथा’ वार्षिक उपजको केही अंश लिएर सेवा दिने परम्परा हाल नगद कारोबारमा रूपान्तरित भएको छ । विकले भने, “नगदमै कारोबार गर्दा ग्राहकलाई सजिलो हुन्छ, हामीलाई पनि तुरुन्त आम्दानी हुन्छ ।”

बाहिरी बजारबाट रेडिमेड फलामका सामान आउन थालेपछि स्थानीय उत्पादनमा असर परेको छ । विकका अनुसार, स्थानीय उत्पादन टिकाउ र भरपर्दो भए पनि सस्तो र चम्किलो सामानसँग प्रतिस्पर्धा गर्न कठिनाइ छ ।

युवापुस्तामा आकर्षण घट्दै गएका कारण पुस्तान्तरणमा संकट देखिएको छ । धेरैजसो युवा वैदेशिक रोजगारी वा अन्य पेशातर्फ लागेका कारण ‘बुढापाकाले मात्र पेशा सम्हाल्ने’ अवस्था आएको विकले बताए ।

सामूहिक आरनघरमै ४० वर्षीय होमबहादुर विश्वकर्मा तामाको गाग्री मर्मतमा व्यस्त थिए । उनले बाल्यकालमै बाबु–बाजेबाट सीप सिकेर काठमाडौंमा अनुभव बटुलेका हुन् । “यो गाग्री पुरानो हो, बिग्रिएको भाग काटेर नयाँ पाताले टाल्दैछु । अब यो नयाँजस्तै बलियो हुन्छ,” उनले भने । तामाको सामाग्री बजामार सहजै उपलब्ध हुँदा पेसा संकटमा परेको उनको भनाई छ ।

तर, ७३ वर्षीया बिमला विकका अनुसार महिलाहरूको भूमिका आरन व्यवसायमा सहयोगी स्तरमै सीमित छ । हावा फुक्ने मेसिन चलाउने वा खाजा पकाउने काम महिलाहरूले मात्रै गर्दछन् । “फलामको काम त बाउबाजेले गर्थे, हामी सहयोग मात्र गथ्र्यौं । यो दुःखको काम हो, मेरो छोराछोरीले नगरुन् जस्तो लाग्छ, बरु अरुनै काम गरुन्” उनले भनिन् ।

वडा अध्यक्ष बसन्त कटवालले हाल करिब १० घरधुरी यस पेशामा संलग्न रहेको जानकारी दिए । वडाले फलाम, फुक्ने मेसिन, ग्याल्डर, भवन र विद्युत मिटरबक्स उपलब्ध गराएको भए पनि सामूहिक चेतनाको कमीका कारण स्रोतको पूर्ण उपयोग हुन नसकेको उनको भनाइ छ ।

“वडा बाट हामीले सहयोग गरेका छौँ, तर उत्पादन र बजार व्यवस्थापनमा उनीहरूको अग्रसरता जरुरी छ,” कटवालले भने । उनले आगामी दिनमा आवश्यकता अनुसार सहयोग गर्ने योजना रहेको बताए । वडा तथा स्थानिय तहबाट गरिएको लगानीको उपलब्धी नभएको वडा अध्यक्ष कटवालले बताए ।

लालबहादुर विकले थपे, “शिप–कला अपराध होइन, हाम्रो अधिकार हो । यसलाई अपराधीकरण गर्ने वा जातीय विभेद गर्ने मानसिकता हामी स्वीकार्दैनौँ । यो पेशा जोगाउनु हाम्रो जिम्मेवारी हो ।”