ओखलढुंगाका आठ स्थानीय तहले चार अर्ब २९ करोड बजेट ल्याएका छन् । आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लाको एक नगरपालिका र सात वटै गाउँपालिकाले चार अर्ब २९ करोड ८२ लाख ९७ हजार ६१६ रुपैँया बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
सबैभन्दा बढी जिल्लाको एक मात्रै नगरपालिका सिद्धिचरण नगरपालिकाले ७२ करोड ६५ लाख १३ हजार बजेट ल्याएको छ । सबैभन्दा कम लिखु गाउँपालिकाले ४० करोड ३० लाख बजेट प्रस्तुत गरेको छ ।
सुनकोशी गाउँपालिकाले ६२ करोड ५४ लाख ७८ हजार ११७, मानेभञ्ज्याङले ५३ करोड नौं लाख चार हजार रुपैंया, चम्पादेवीले ६२ करोड ५० लाख ७४ हजार, मोलुङ गाउँपालिकाले ५० करोड २० लाख ७२ हजार ५५२ र चिशंखुगढीले ४७ करोड २४ लाख ४५ हजार ६१९ रुपैंया बजेट ल्याएको छ ।
जिल्लाका सबै स्थानीय तहले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छन् । कृषिको आधुनिकिकरण गर्दै उत्पादन बढाएर कृषि मार्फत नागरिकलाई स्वरोजगार बनाउने जिल्लाका स्थानीय तहहरुको नीति छ । नीति तथा कार्यक्रममा स्थानीय तहले कृषि पछि शिक्षा र स्वास्थ्यमा केन्द्रित बजेट ल्याएका छन् ।
सिद्धिचरण नगरपालिकाले कृषि र पशुपंछी क्षेत्रमा बढी रकम विनियोजन गरेको छ । उत्पादन बढाएर कृषि उपजको ब्राण्डिङ र बजारीकरणमा जोड दिने गरि नीति कार्यक्रम र बजेट केन्द्रित रहेको नगरप्रमुख तेजन खनालले बताए ।
‘उत्पादित कृषि उपजलाई सरल र सहज रुपमा स्थानीय बजार, बाह्य बजार तथा शहरी क्षेत्रसम्म पुर्याउन कृषि एम्बुलेन्सको प्रयोगलाई व्यवस्थित बनाउने लगाउने लगायतका योजना ल्याएका छौँ । कृषिमा अधिकांश नागरिक निर्भर भएको र कृषि मार्फत समृद्धि हासिल गर्न सकिने भएकाले बजेट, नीति तथा कार्यक्रमलाई कृषिमा केन्द्रित गरेका छौँ ।’ उनले भने ।
यस्तै नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन लगायतका योजनालाई पनि जोड दिएर समेटेको छ ।
जिल्लाको सुनकोशीले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पुर्वाधारलाई जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।
शिक्षामा गुणस्तर वृद्धि गर्ने, कृषिमा लगानी बढाउने, खानेपानीका समस्या समाधानका लागि विभिन्न योजना सञ्चालन, गाउँमै उपचारका सेवा पुर्याउनका लागि शिविर चलाउने लगायतको योजना छ ।
मानेभञ्ज्याङ गाउँपालिकाले पनि बजेटमा कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष आश्राचन राई बताए । उनका अनुसार खाली रहेका जग्गामा फलफूल खेती गर्नका लागि कृषकहरुलाई प्रोत्साहन, ब्याज अनुदान दिने, ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थय बिमा गराइने लगायतका नीति गाउँपालिकाले लिएको छ ।
जिल्लाको चम्पादेवी गाउँपालिकाले भने पुर्वाधार र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । अधुरा रहेका पुर्वाधार निर्माण कार्यलाई पूर्णता दिने र नयाँ विकास निर्माणका कामलाई जोड दिनेगरि बजेट, नीति तथा कार्यक्रम केन्द्रित रहेको गाउँपालिकाले जनाएको छ ।
मोलुङ गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई जोड दिएर बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । कृषि नै समृद्धिको आधार रहेकोले कृषिजन्य उपजको उत्पादनमा अनुदान, जडिबुटी प्रशोधन, पुर्वाधार र पर्यटन विकास लगायतलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रवक्ता एवम् मोलुङ–७ का वडा अध्यक्ष हेम बहादुर सुनवारले जानकारी दिए ।
जिल्लाको चिशंखुगढी गाउँपालिकाले नीति तथा कार्यक्रममा पुर्वाधार र कृषिलाई जोड दिएको छ । गाउँपालिकाको प्रशासकीय र वडा कार्यालयहरु निर्माण गर्नुपर्ने भएकोले पुर्वाधारलाई केन्द्रित गरेर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ ।
जिल्लामा खिजीदेम्बा गाउँपालिकाले कृषि उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउने नीति ल्याइएको गाउँपालिकाका प्रवक्ता एवम् खिजीदेम्बा–६ का वडा अध्यक्ष पासाङ निमा शेर्पाले बताए ।
सबैभन्दा कम बजेट रहेको लिखु गाउँपालिकाले यस वर्ष पनि कृषि क्षेत्रलाई प्राथमिकता राखेको छ । कृषिलाई केन्द्रभागमा राखेर बजेट तर्जुमा गरिएको र हरेक योजनालाई उत्पादनसँग जोडिएको उपाध्यक्ष अस्मिता थापाले बताइन् । कृषिसँगै स्वास्थ्य सुधार कार्यक्रम, विद्यालयहरुमा बालमैत्री कक्षा सञ्चालन गर्ने र शैक्षिक सुधारका कार्यक्रमलाई जोड दिएको उनको भनाई भनाई छ ।
यस पटक पनि जिल्लाका अधिकांश स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएका छन् ।

प्रतिक्रिया