सवारी साधनको अभाव र स्वास्थ्य सेवाको पहुँच नहुँदा ओखलढुंगाको एक विकट गाउँमा सुत्केरी महिलाले बाटोमै सन्तान जन्माउने अवस्था आएको छ । चम्पादेवी गाउँपालिका–२, नवलपुरकी २३ वर्षीया भुमिका विकलाई स्वास्थ्य चौकी पलापुका स्वास्थ्यकर्मीहरूले घटनास्थलमै पुगेर उद्धार गरेका हुन् ।
विकलाई आईतबार प्रसव पीडा सुरु भएपछि परिवारजनले उनलाई स्वास्थ्य चौकी लैजाने प्रयास गरे पनि सवारी नपाएर बाटोमै सुत्केरी हुने स्थिति आएको थियो । त्यसबेला स्वास्थ्य चौकी पलापुका सिनियर अहेब ऋषिराम घिमिरेको टोली तत्काल घटनास्थल पुगेको थियो । सहयोगीको साथमा आवश्यक उपकरणसहित पुगेको टोलीले सुरक्षित रूपमा प्रसव गराई आमा र बच्चा दुवैलाई जोगाउन सफल भएको छ । हाल आमा र बच्चाको अवस्था सामान्य रहेको सिनियर अहेब घिमिरेले बताए ।
एम्बुलेन्स सेवा नपुग्नुजस्ता कारणले यहाँका महिलाहरू असुरक्षित सुत्केरीपनको जोखिममा परिरहेका छन् । धेरैजसो महिलाहरूलाई स्टेचरमा बोकेर घण्टौँ लगाएर मात्रै सुरक्षित सुत्केरी सेवा दिने केन्द्रमा पु¥याउनु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया