चौरी पालक किसानलाई सोलार वितरण

भिजन समाचार
12
Shares

खिजिदेम्बाका चौरीपालक किसानलाई सोलार वत्ति वितरण गरिएको छ । खिजीदेम्बा गाउँपालिकाले २४ जना चौरीपालक किसानलाई सौर्य उर्जा प्रणाली (सोलार) वितरण गरेको हो । गाउँपालिकाकाे माथिल्लाे लेकाली भेगमा चौरी गोठ बस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, पुल्ठो, दियालो बाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि चौरीपालक कृषकहरुलाई सोलार वत्ति वितरण गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।
वन्यजन्तु बाट चौरीको सुरक्षा, काम गर्न सजिलो, गोठमा बसेका बालबालिकालाई पढ्नलेख्न सहज हुनुका साथै लोप हुदै गएको चौरी पालन व्यवसायलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले सोलार वत्ति उपलब्ध गराईएको अध्यक्ष शेर्पाको भनाई छ ।
चौरीपालनमा रुची भएपनि सुरक्षा, सेवा सुविधा, बजारीकरणको अभावले किसानलाई नैरास्यता छाइरहेको अवस्थामा गाउँपालिकाले सोलार उपलब्ध गराउदा हर्षित भएका छन् । गत आर्थिक वर्षमा पनि गाउँपालिकाले केही परम्परागत चौरीपालक किसानलाई सोलार वत्ति उपलब्ध गराएको थियो । तथ्याङ्क अनुसार पछिल्लो समयमा विविध कारणले चौरी पालन गर्ने किसानको सङ्ख्या घटिरहेको छ ।