ओखलढुंगा । ओखलढुंगामा बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा बिहीबार सिद्धिचरण नगरपालिका–११ स्थित लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई बालविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई बालविवाहको कानुनी व्यवस्था, यसबाट पर्ने शारीरिक, मानसिक तथा सामाजिक असर, किशोर–किशोरीको अधिकार, सुरक्षित भविष्य निर्माण तथा बालविवाह रोक्न विद्यार्थी, अभिभावक र समुदायको भूमिकाबारे जानकारी गराइएको प्रहरी सहायक निरीक्षक विवश कुँवरले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षमा प्रहरीमा बालविवाह सम्बन्धी कुनै पनि मुद्दा औपचारिक रूपमा दर्ता हुन आएको छैन । तर समाजमा लुकिछिपी बालविवाह हुने गरेको गुनासो तथा अनौपचारिक जानकारी प्राप्त भइरहेकाले विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।
प्रहरीका अनुसार बालविवाह कानुनले निषेध गरेको अपराध मात्र नभई किशोर–किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने सामाजिक विकृति हो । कम उमेरमा विवाह गर्दा मातृ तथा शिशु स्वास्थ्यमा जोखिम बढ्ने, विद्यालय शिक्षा बीचमै छाड्नुपर्ने अवस्था सिर्जना हुने, घरेलु हिंसा, आर्थिक निर्भरता तथा गरिबीको चक्र अझ गहिरिने विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा विद्यार्थीलाई बालविवाह रोकथाममा स्वयं सचेत भई आफ्ना परिवार, साथीभाइ र समुदायमा समेत जनचेतना फैलाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय विद्यालय लक्षित सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै लागूऔषध दुव्र्यसन, साइबर अपराध, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा बालअधिकार जस्ता विषयमा पनि विद्यार्थीलाई जानकारी गराउने अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
कानुनी व्यवस्था
नेपालको मुलुकी देवानी संहिता, २०७४ अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन । २० वर्षभन्दा कम उमेरमा गरिएको विवाह कानुन अनुसार बदर हुन्छ ।
यस्तै मुलुकी अपराध संहिता, २०७४ अनुसार बालविवाह गराउने, सहजीकरण गर्ने वा त्यसमा संलग्न हुने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । बालविवाहमा संलग्न अभिभावक, आफन्त वा अन्य व्यक्तिमाथि पनि कानुनी कारबाही हुन सक्छ ।

प्रतिक्रिया