ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेख बहादुर मंग्रातीको सरुवा भएको छ । गृह मन्त्रालयले उनलाई उदयपुर जिल्लामा सरुवा गरेको हो ।
ओखलढुंगामा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा टुवराज पोखरेल आउने छन् ।
करिब १० महिनादेखि ओखलढुंगामा प्रजिअको जिम्मेवारी सम्हालेका मंग्रातीले आफ्नो कार्यकालमा सेवाग्राहीमैत्री प्रशासन सञ्चालनमा जोड दिएका थिए । उनले जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता केन्द्रलाई सक्रिय बनाउँदै निवेदन लेखनलगायत सेवामा सहजीकरण गर्ने व्यवस्था मिलाएका थिए । साथै सेवाग्राहीलाई आवश्यक पर्ने फोटोकपी सेवा कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।
त्यसैगरी भाडामा सञ्चालन हुँदै आएका सरकारी कार्यालयका लागि जग्गा व्यवस्थापन गरी आफ्नै भवन निर्माणको प्रक्रिया अघि बढाउन अध्ययन समिति गठन गरिएको थियो । जिल्लाका रुग्ण विकास निर्माण आयोजनालाई अघि बढाउन पहल तथा निरन्तर अनुगमनको कामसमेत गरिएको थियो ।
मंग्रातीको कार्यकालमा भएको जेनजी आन्दोलनका क्रममा सरोकारवाला पक्षसँग समन्वय गरी जिल्लामा अप्रिय घटना हुन नदिन प्रशासनले भूमिका खेलेको थियो ।

प्रतिक्रिया