मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले खिजीदेम्बामा डस्ट्बिन वितरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ, स्वस्थ, सफा र सुन्दर बजार बनाउने काममा सहयोग गर्न करिब ५० हजार रुपैयाँ लागतमा वडा नम्बर ५ खिजीफलाटेलाई १० वटा तथा वडा नम्बर ६ बन्सेलाई ६ वटा गरी कुल १६ वटा डस्टबिन वितरण गरेको हो ।
संस्थाका शाखा प्रमुख कुमार गुरुङले वडा नम्बर ५ का वडा अध्यक्ष राम सुनुवार र वडा नम्बर ६ का वडा अध्यक्ष पासाङ ङिमा शेर्पालाई खिजीफलाटे र बन्से बजारमा राख्नेगरी संयुक्त रूपमा डस्टबिन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख गुरुङले संस्थाले केवल वित्तीय सेवा मात्र नभई सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय समुदायको आवश्यकता अनुसार विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनले गाउँपालिकाभित्र सरसफाइ कायम राख्न, वातावरण संरक्षणमा सहयोग पु¥याउन तथा सार्वजनिक स्थानहरूमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन डस्टबिन वितरण गरिएको जानकारी दिए ।

वडा अध्यक्षद्वय राम सुनुवार र पासाङ ङिमा शेर्पाले संस्थाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यक्रमले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए । उनीहरूले वितरण गरिएका डस्टबिनलाई विद्यालय, सार्वजनिक स्थल तथा बढी मानिसको आवतजावत हुने स्थानमा व्यवस्थापन गरिने जानकारी दिएका छन् ।
स्थानीयवासीले समेत संस्थाको यस कार्यको प्रशंसा गरेका छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा सरसफाइ र वातावरण संरक्षणप्रति जनचेतना बढ्दै गइरहेका बेला यस्ता सहयोगात्मक कार्यक्रमले समुदायलाई थप जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया