ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतको पुरानो भवनलाई ‘रेक्ट्रोफिटिङ’ (प्रबलिकरण) प्रविधिमार्फत भूकम्प प्रतिरोधी र सुरक्षित बनाउने काम सुरु गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले उक्त भवनलाई सुदृढीकरण गर्ने उद्देश्यसहित काम अघि बढाएको हो ।
आयोजनाअन्तर्गत पाइलट प्रोजेक्टका रूपमा सञ्चालन भइरहेको यस कार्यको प्रारम्भिक लागत अनुमान ९९ लाख ९९ हजार रुपैयाँ रहे पनि ठेक्का सम्झौता अनुसार ६८ लाख ३२ हजार ६१३ रुपैयाँ ३९ पैसामा निर्माण भइरहेको आयोजना इन्जिनियर सुदिप दाहालले जानकारी दिए ।
२०८२ साल चैत १२ गते सम्झौता भई २०८३ जेठ ३१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त परियोजना काठमाडौँको मैतिदेवीस्थित नर्भदा कन्स्ट्रक्सन सेवाले कार्यान्वयन गरिरहेको छ । हाल भवनको भित्री र बाहिरी भागमा रडको जाली राखी दुवैतर्फबाट कङ्क्रिट (ढलान) गर्ने कार्य भइरहेको छ । जसले संरचनालाई थप मजबुत बनाउनेछ ।
प्राविधिक अध्ययनपछि ‘रेक्ट्रोफिटिङ’ विधिबाट पुराना, कमजोर वा चर्किएका संरचनामा नयाँ प्रविधि र सामग्री प्रयोग गरी कम लागतमा सुरक्षित बनाइन्छ । इन्जिनियर दाहालका अनुसार जिल्लामा यसअघि निजी आवासमा मात्र यस्तो प्रविधि प्रयोग गरिए पनि सरकारी भवनमा भने यो पहिलो अभ्यास हो ।
परियोजना अन्तर्गत भवनको पछाडि आरसीसी ढलानसहित शौचालय, बाथरुम निर्माण तथा माथिल्लो तलासम्म पुग्ने आरसीसी सिँढी निर्माण समेत गरिनेछ ।
२०७२ सालको भूकम्पबाट आंशिक क्षति पुगेको उक्त भवनको प्रबलिकरणपछि उच्च अदालत विराटनगरको अस्थायी इजलास, ओखलढुंगामा कार्यरत कर्मचारीका लागि आवासका रूपमा प्रयोग गर्ने योजना रहेको जिल्ला अदालतले जनाएको छ । हाल जिल्ला अदालतकाे सेवा नयाँ भवनबाट प्रवाह भइरहेकाे छ ।

प्रतिक्रिया