सार्वजनिक प्रशासन रूपान्तरण अभियानका अभियन्ता शाखा अधिकृत घिमिरेद्वारा राजीनामा

भिजन समाचार
182
Shares

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सिंहदरबारमा कार्यरत शाखा अधिकृत गणेश घिमिरेले निजामती सेवाबाट राजीनामा दिएका छन् ।

‘जेन जेड’ कर्मचारीहरूको नेतृत्व गर्दै सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ सञ्चालन गर्दै आएका घिमिरेलाई अछाममा सरुवा गरिएपछि उनले पद त्याग गर्ने निर्णय लिएका हुन् ।

घिमिरेले सोमबार आयोगका सचिव दिनेश कुमार घिमिरेसमक्ष हस्तलिखित राजीनामा पत्र बुझाएका छन् । उनले २०६७ सालदेखि निरन्तर रूपमा निजामती सेवामा रही सेवा गर्दै आएको उल्लेख गर्दै हाल नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्र तृतीय श्रेणीको शाखा अधिकृत पदमा कार्यरत थिए ।

राजीनामा पत्रमा उनले निजामती सेवा नियमावली, २०५० को नियम १२८ बमोजिम सोमबारदेखि लागू हुने गरी स्वेच्छाले पद त्याग गरेको उल्लेख गरेका छन् । साथै, हालसम्म विभिन्न निकायमा रही राष्ट्रसेवा गर्ने अवसर प्रदान गरेकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सार्वजनिक प्रशासन सुधारका विभिन्न माग अघि सार्दै आएका घिमिरे सरकारको पछिल्लो निर्णयअनुसार स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई स्थायी रूपमा पदपूर्ति गर्ने प्रक्रिया अन्तर्गत अछाममा सरुवा भएका थिए ।

घिमिरेले ‘जेनजी’ आन्दाेलन पछि अभियान मार्फत प्रशासन सेवा सुधारका लागि सक्रिय रूपमा आवाज उठाउँदै आएका थिए ।