प्रथम पंखु फुटसल कप २०८० को उपाधि घ्रिम्दी उबुँले जितेको छ । महान चाडहरु दशै, तिहार र छठ पर्वको अवसरमा मानेभन्ज्याङ गाउँपालिका–४ पंखुको आयोजनामा भएको प्रतियोगिताको उपाधि मानेभन्ज्याङ–३ उँबु घ्रिम्दीको फुटसल–५ ले जितेको हो ।
गाउँपालिका स्तरीय प्रतियोगितामा सिर्जनशील एकता समाज मानेभञ्ज्याङ–५ द्वितीय भएको छ भने उदयपुर खेलकुद युवा क्लब तेस्रो भएको छ । प्रतियोगितामा एटम राई उत्कृष्ट खेलाडी र सन्तोष राई उत्कृष्ट गोल रक्षक घोषित भएका छन् ।
प्रतियोगितामा विजेता टिम घ्रिम्दी उबुँले ३३ हजार ३३३ नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । द्वितीय भएको सिर्जनशील एकता समाज मानेभञ्ज्याङ–५ ले २२ हजार २२२ र तेस्रो भएको उदयपुर खेलकुद युवा क्लबले ११ हजार १११ नगदको साथमा मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।
विजेता टिमका खेलाडीलाई गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली र वडा अध्यक्ष बिष्णुबहादुर तामाङले पुरस्कार हस्तान्तरण गरेको समाचार पंखु बाट अर्चना राईले पठाएका छन् । प्रतियोगिता असोज २७ देखि ३० गते सम्म सञ्चालन भएको थियो ।
प्रतिक्रिया