ओखलढुंगाका नौ जना कृषकलाई सम्मान गरिएको छ । ४३ औं विश्व खाद्य दिवसको अवसरमा बिहीबार एक कार्यक्रमका बीच जिल्लामा विभिन्न कृषि फर्म सञ्चालन गर्दै आएका कृषकलाई कृषि ज्ञान केन्द्रले नगद सहित सम्मान गरेको हो ।
जिल्लाभित्रका कृषि कर्मबाट छनोटभएका उत्कृष्ट कृषि फर्म सञ्चालक मध्ये नौ जना कृषकहरुलाई नगद रु. तीन हजार र सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम बहादुर आले मगरले बताए ।
सम्माननित हुने कषकहरुमा चिसंखुगढी गाउँपालिका–१ कुईभिरका केशव राई, मानेभञ्ज्याङ गाउँपालिका–५ बालेथुमका कोष बहादुर मगर, मोलुङ गाउँपालिका–१ कुन्तादेवीका नेत्र बहादुर कार्की, सुनकोशी गाउँपालिका–७ च्यानमका गणेश बहादुर कार्की र चम्पादेवी गाउँपालिका–१० रानीवनका तेजेन्द्र बिष्ट रहेका छन् ।
यस्तै लिखु गाउँपालिका–१ साँघुटारका चन्द्र बहादुर तामाङ, खिजिदेम्बा गाउँपालिका–८ भुसिंगाका डबल काजी बस्नेत, सिद्धिचरण नगरपालिका–९ की टिकामाया खड्का र सिद्धिचरण–७ चित्रेका निमानुरी शेर्पा रहेकी छन् ।
कृषि कर्ममा लाग्ने कृषक र कृषक अगुवाहरुलाई सम्मान गरेर प्रोत्साहन प्रदान गरेकोमा खुसी लागेको चिशंखुगढी गाउँपालिका–१ कुइभिरका कृषक तथा संविधान सभा सदस्य केशव राईले बताए । कृषिबाटै देशमा समृद्धि हासिल गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रमकै अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई ओखलढुंगा, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा र कृषि ज्ञान केन्द्र ओखलढुंगाबाट आर्थिक वर्ष २०८०-०८१ मा सञ्चालन हुने वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको थियो ।
कार्यक्रममा सहभागी अतिथि वक्ताहरुले वास्तविक कृषकलाई अनुदानका कार्यक्रममा समेट्नुपर्ने, कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा सबै क्षेत्र र सरकारका अंगहरु एक भएर अघि बढ्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति उपप्रमुख तारा देवी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख,उपप्रमुख, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,अगुवा कृषक लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
ओखलढुंगामा तोकिएको भाडादर हेर्नुहोस्
प्रतिक्रिया