ओखलढुंगाको सुनकोशी गाउँपालिकाले सीप सिकेका नागरिकलाई प्रविधि हस्तान्तरण गरेको छ । गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत विभिन्न सामाग्री प्रदान गरेको हो ।
गाउँमा कुटानी पिशानीमा सहजताका लागि पालिकाले प्रत्येक वडामा एक एक वटा कम्बाईन राईस मिल वितरण गर्न थालेको छ । पालिकाको १० वटै वडामा नागरिकहरुको माग अनुसार पायक पर्ने स्थानमा एक एक वटा र ककनी गाउँलाई एउटा गरि जम्मा ११ वटा कम्बाईन राईस मिल वितरण गर्न थालिएको सुनकोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले जानकारी दिए ।
यस्तै पालिकाको १० वटै वडाका दलित समुदायको परम्परागत पेशा व्यवसाय प्रवद्र्धनको लागि टेलरीङ मेसिन र वेल्डिङ मेसिन पनि वितरण गर्न थालिएको उनले बताए ।
गाउँपालिका अध्यक्ष कमल तामाङ र उपाध्यक्ष सुनिता अधिकारीले नागरिकहरुलाई गाउँगाउँमै पुगेर वितरण सुरु गरेका छन् ।
गाउँमा ढिकी जाँतोको प्रचलन हराउँदै गएको अवस्थामा नागरिकहरुको दैनिकी सहज बनाउन मिल वितरण गरिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए ।
दलित समुदायलाई सीप सिकाएर उद्यमी बनाउने तथा उनीहरुको आयआर्जन बढाएर जीवनस्तर उकास्ने उद्वेश्यले सिलाई मेसिन र वेल्डिङ मेशिन वितरण गरिएको उनको भनाई छ ।
गाउँपालिकाको ८० प्रतिशत अनुदान र उपभोक्ता नागरिकको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया