धान बालीमा ब्लास्ट रोग देखियाे

धान बालीमा ब्लास्ट रोग देखियाे


भिजन समाचार
371
Shares

ओखलढुंगामा फाट्टफुट्ट रुपमा धानबालीमा ब्लास्ट रोग देखा परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–४ को केहि क्षेत्रको धानबालीमा फाट्टफुट्ट ब्लास्ट रोग देखा परेको हो ।

धानबालीमा रोग किराको संक्रमण देखा पर्न थालेकोबारे किसानहरुबाट गुनासो आएकोले अनुगमन गर्ने तयारी भइरहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बागबानी विकास अधिकृत टिका बानियाले बताए ।

उनका अनुसार धानमा ब्लाष्ट नामक रोग लागेपछि पातमा स–साना सेतो टीका बीचमा भएका लाम्चिला खैरो थोप्ला देखापर्छ । बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिन्छ । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिन्छ ।

यस्तै, खैरो थोप्ने रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरु देखिन्छ । ब्याक्टेरियल लिफ ब्लाइट लागे पातको किनाराबाट लामो पहेँला वा खैरा रङका धर्साहरु देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्ने लगायत लक्षण देखा पर्दछ ।

धानबालीमा यस्तो रोग र लक्षणहरु देखा परेमा कृषि ज्ञान केन्द्र र पालिकाका कृषि विकास शाखामा खबर गर्न केन्द्रले जिल्लाका कृषकहरुमा आग्रह गरेको छ । धानबालीको निरन्तर हेरचाह गर्न र रोग किराको संक्रमण भएको पाइएमा कृषि विज्ञ वा प्राविधिकको सल्लाह अनुसारको विषादी उचित मात्रामा धानबालीमा प्रयोग गर्न केन्द्रले जिल्लाका कृषहलाई सुझाव दिएको छ ।