मुद्वा जितेपछि गम्बु शेर्पाले भने–`खिजीदेम्बाको विकास हार्दैन´

मुद्वा जितेपछि गम्बु शेर्पाले भने–`खिजीदेम्बाको विकास हार्दैन´



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आफु विरुद्ध मुद्धा गर्नेहरुलाई मनमुटाव नराखी विकासमा हातेमालो गर्न आग्रह गरेका छन् । आफु विरुद्ध परेको रिट खारेज भएसँगै जिल्ला सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

आफु पालिकाको विकासमा जुटिरहँदा राजनीतिक प्रतिशोधले मुद्धा दायर भएपछि काम गर्ने मान्छे अनावश्यक अलमलिनु परेको उनको भनाई थियो ।
जनताले चुनावमा नजिताएको झोकमा विपक्षीले अदालतको परामादेशबाटै भए पनि पालिका अध्यक्ष बन्छु भन्ने कुविचार सहित दायर गरेको रिट खारेज भएको बिषयले आफु मात्र नभएर सिंगो खिजीदेम्बाबासी र आम नागरिकमा खुसीयाली छाएको उनले बताए ।
‘जनताले दिएको मतको अनादर गर्दै कपोलकल्पित आरोप सहित उहाँहरुले पदको लोभमा अदालतको परमादेशबाटै पालिका अध्यक्ष बन्ने मनाशाय राख्नु भएको थियो होला । तर अदालतले साँचो न्याय दिएको छ । मैले आफुलाई फेरि पनि दोस्रो पटक निर्वाचित भएको महसुश गरेको छु ।’ उनले भने ।
‘पालिकामा सुशासन र समृद्धिको यात्रा जारी छ । श्रमदानबाटै करोडौँ बजेट बराबरको काम भएको छ । काम गरिरहेको नेतृत्वलाई आगामी दिनमा यसरी अनावश्यक बाधा उत्पन्न गर्नुहुने छैन भन्ने विस्वास छ । र त्यो नगर्न पनि आग्रह गर्छु ।’ अध्यक्ष शेर्पाले भने ।
अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज आइतबार उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले खारेज गरिदिएको छ ।

न्यायधीशद्धय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पा विरुद्धको रिट खारेज गरेको हो ।

अध्यक्ष शेर्पा विरुद्ध प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र वस्नेतले विदेशी नागरिकतावाहक भएकै अवस्थामा निर्वाचनमा भाग लिएको भन्दै आफूलाई गाउँपालिका अध्यक्ष घोषित गरि पाउँ भनि उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

यसैबिच जनता समाजवादी पार्टी जिल्ला समिति ओखलढुंगाले एक विज्ञप्ती जारी गर्दै रिट खारेज हुनु गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको मात्र नभएर सम्पुर्ण खिजीदेम्बाासीको जितको रुपमा लिएको जनाएको छ ।
‘खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष श्री गम्बु शेर्पा विरुद्ध दायर भएको उक्त रिट कानूनी नभई राजनैतिक मुद्धा हो भन्ने हाम्रो ठहर छ । लोकतन्त्रको सुगा रटान गर्ने दल र व्यक्तिहरुबाट लोकतान्त्रिक विधी र प्रकृया भन्दा पर गएर यसरी गरिएको राजनैतिक प्रहार अन्तत विफल भएको छ । यसलाई हामीले व्यक्तिगत रुपमा गम्बु शेर्पाको एकल जितका रुपमा नभई समग्र न्यायप्रेमी खिजिदेम्बाबासी जनताको जितको रुपमा लिएका छौं ।
गाउँपालिकाको विकासलाई श्रमदानमार्फत् समेत अहोरात्र योगदान गरिरहनु भएका गम्बु शेर्पाको व्यक्तिगत ख्यातीबाट अत्तालिएर राजनीतिलाई कानूनको सहायताबाट प्रहार गर्न खोज्नु निश्चय नै हास्यास्पद हो ।

तथापि खिजिदेम्बा गाउँपालिकाको समग्र रुपान्तरण कुनै एक दल, एक व्यक्ति, एकल सोच र एकल प्रयत्नबाट मात्र सम्भव नहुने कुरालाई स्मरण गराउँदै विगतका मनमुटावालाई अन्त्य गर्दै सबै राजनैतिक दल, खिजिदेम्बाबासी सम्पूर्ण न्यायप्रेमी दाजुभाई दिदिबहिनीहरुमा हातेमालो गर्दै समग्र विकासका लागि सामुहिक प्रयत्नमा जुट्न समेत यसै विज्ञप्ति मार्फत् अपिल गर्दै यस कानूनी र राजनैतिक लडाईंमा सहयोग गर्नु हुने तपाई सम्पूर्ण धन्यवाद ज्ञापन गर्दछौं ।’ जसपा जिल्ला उपाध्यक्ष प्रकाश तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।