जिल्ला प्रहरी कार्यालय ओखलढुंगा कोशी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट कार्यसम्पादनको आधारमा जिप्रका ओखलढुंगा सम्मानित भएको हो ।
कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालयहरु मध्येबाट सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहने कार्यालयहरु मध्येबाट उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई शुक्रबार प्रशंसा– पत्र प्रदान गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सर्वोत्कृष्ट हुने जिप्रका सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसी.लाई प्रशंसा–पत्र प्रदान गरेका हुन् ।
उत्कृष्ट हुन सफल जिल्ला प्रहरी कार्यालयहरुलाई बधाई दिँदै प्रदेश प्रहरी प्रमुख बास्तोलाले आगामि दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिएका छन् ।
आर्थिक बर्ष २०७९-०८० का लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अन्तरगतका पहाडी जिल्लाहरु मध्येबाट जिल्ला प्रहरी कार्यालय ओखलढुंगा उत्कृष्ट हुँदै सम्मानित भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले फरार कैदी फक्राउ गर्न थालेको ‘सर्च अपरेसन’मा सफलता, पुराना बाँकी मुद्धा फछ्यौट, अपराध न्यूनीकरण, शान्ति सुरक्षा कायम तथा सचेतनाका कार्यक्रममा जोड दिएको लगायतको मुल्याकंनको आधारमा उत्कृष्ट घोषित हुँदा खुसी लागेको जिल्ला प्रहरी प्रमुख प्रनाउ केसीले बताए ।
उत्कृष्ट हुनुमा जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी तथा सरोकारवाला सबैको योगदान रहेको भन्दै उनले धन्यवाद दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले गत आव २०७९-८० मा सञ्चालन गरेको फरार प्रदिवादी सर्च अपरेसनबाट ५८ जनालाई पक्राउ गरेको थियो ।
जिल्लामा अपराधिक घटनामा केहि न्यूनीकरण भएको छ । जिल्लामा तीन आर्थिक वर्षको अपराधिक घटना विवरणको विश्लेषण गर्दा गत आव २०७९-०८० मा कमि आएको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-०८० मा १४१ घटनाका मुद्दा कार्यालयमा दर्ता हुन आएका थिए ।
यसको तुलनामा आर्थिक वर्ष २०७८-०७९ मा १७७ र आर्थिक वर्ष २०७७-०७८ मा १७५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्याङ्कमा उल्लेख छ ।
अपराधका घटना न्यूनिकरण गर्न सचेतना महत्वपूर्ण हुने भन्दै ओखलढुंगा प्रहरीले गाउँ गाउँमा नागरिक सचेतना अभियान सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया