सहिद–मनोज,झपेन्द्र,सुरेन्द्र स्मृति दिवस: पहिरो पीडित र कैदीलाई सहयोग

सहिद–मनोज,झपेन्द्र,सुरेन्द्र स्मृति दिवस: पहिरो पीडित र कैदीलाई सहयोग


भिजन समाचार
5.1k
Shares

सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८० ओखलढुंगामा पहिरो पीडित र कैदीबन्दीलाई सहयोग गरि मनाइएको छ । दिवसका अवसरमा नेपाल निजामती कर्मचारी संगठन ओखलढुंगाले जिल्ला कारागार ओखलढंगाका कैदीबन्दीलाई आवश्यक किचनका सामाग्री सहयोग गरेको हो ।

कैदिबन्दीलाई ग्याँस चुल्हो, रेगुलेटर र पाइप सहित तीन थान, थर्मस ठुलो एक थान, भट्टी चुल्हो एक थान र लाइटर दुई थान गरि जम्मा १५ हजार छ सय बराबरको सामाग्री सहयोग गरिएको संगठनका जिल्ला अध्यक्ष सुजन घिमिरेले बताए ।

आफुहरुलाई आवश्यक परेको सामाग्री सहयोग गरेकोमा संगठनलाई कैदीबन्दीले धन्यवाद दिएका छन् ।

यस्तै गत मंगलबार सिद्धिचरण नगरपालिका १२ साल्मे खोरियामा आएको पहिराले क्षति बेहोरेका पहिरो पीडितलाई पनि संगठनले किचन र ओतका सामाग्री प्रदान गरेको छ ।

संगठनले कुकर, कराई, थाल, गिलास, कचौरा सहित किचनका लागि आवश्यक पर्ने नौं प्रकारका सामाग्री र एक थान त्रिपाल गरि आठ हजार छ सय ५० रुपैयाँ मुल्य बराबरको सहयोग गरेको संगठनका अध्यक्ष घिमिरेले जानकारी दिए । विपद्का बेला थोरै भए पनि सहयोग पुगोस भन्ने उद्वेश्यले सहयोग गरिएको उनको भनाई छ ।

निजामति कर्मचारीहरुको हकहितका लागि संघर्षका क्रममा शहादत प्राप्त गरेका खोटाङ्गका मनोज जोशी,पोखराका झपेन्द कार्की तथा मुगुका सुरेन्द्र विकलाई नेपाल सरकारको २०६४ माघ २२ को निर्णयबाट सहिद घोषणा गरिए पछि प्रत्येक वर्ष उनीहरुको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले साताव्यापी कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ ।