बारचाँदेका घरघरमा स्वच्छ खानेपानी पुग्यो, स्थानीय हर्षित

बारचाँदेका घरघरमा स्वच्छ खानेपानी पुग्यो, स्थानीय हर्षित


भिजन समाचार
4.7k
Shares

ओखलढुंगाको सिद्धिचरण बारचाँदेका स्थानीयलाई घरघरमा खानेपानीको सुविधा पुगेको छ । सिद्धिचरण नगरपालिका–१ बारचाँदेको प्रत्येक घरमा खानेपानीको सुविधा पुगेपछि स्थानीयमा खुशी छाएको छ ।

सिद्विचरण नगरपालिका, वडा कार्यालय, सहास नेपाल र स्वयंसेवी अभियान नेपालको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएको छ ।

करिब १२ लाख ६३ हजार ७ सय ६१ रुपैंयाको लागतमा खानेपानी आयोजना सम्पन्न भएको वडा अध्यक्ष तिर्थ घिमिरेले बताए । धेरै अघिदेखि खानेपानीको समस्या झेल्दै आएका नागरिकलाई घरघरमा धारा पुगेपछि सहज भएको उनको भनाई छ ।३० हजार लिटरको ट्यांकी निर्माण गरेर खानेपानी वितरण गरिएको छ ।


खानेपानी आयोजनाको बुधबार सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरपालिकाले नागरिकका न्युनतम आवश्यक्तालाई मध्यनजर गरि नीति, कार्यक्रम र बजेट ल्याएकोले आगामी दिनमा खानेपानी र विद्युत लगायतका बाँकी काम द्रुत गतिमा हुने बताए ।

खानेपानी आयोजनाबाट बारचाँदेका ४३ घरधुरी लाभान्वित भएका छन् । घरघरमा खानेपानीको सुविधा भएपछि स्थानीय खुशी भएका छन् ।