सवारी दुर्घटना न्यूनीकरण गर्न ओखलढुंगामा ट्राफिक सप्ताह

सवारी दुर्घटना न्यूनीकरण गर्न ओखलढुंगामा ट्राफिक सप्ताह


भिजन समाचार
1k
Shares

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ओखलढुंगामा मंगलबारबाट ट्राफिक सप्ताह सुरु भएको छ । ‘शेभ ड्राइभ, लङ्ग लाइफ’ भन्ने नारा सहित यो सप्ताह सुरु भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना, आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगरको सहयोग तथा सहकार्यमा कोशी प्रदेशमा १४ वटै जिल्लामा साताव्यापी रुपमा यो कार्यक्रम सुरु भएको छ ।

जिल्लामा पनि मंगलबार सिद्धिचरण नगरपालिका मेयर तेजेन्द्र खनालले कार्यक्रमको उद्घाटन गरेका छन् । ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि नागरिक आफै सचेत हुनुपर्ने बताए ।

सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि नगरपालिकाले सदरमुकाममा विभिन्न काम गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले साताव्यापी सचेतना कार्यक्रमले सवारी अनुशासन र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताइन् । जिल्लामा दुर्घटना न्यूनीकरणका लागि सचेतना सहित दुर्घटनाको जोखिमयुक्त मोडहरुमा कन्भेक्स लेन्स राख्ने लगायतको काम भएको उनको भनाई छ ।

सडक दुर्घटनासम्बन्धी सचेतना बढाइ व्यक्ति र समुदायलाई सतर्क एवम् सुरक्षित बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम थालिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले बताए ।

सचेतना र रोकथामका लागि गरिएका प्रयासले पछिल्लो समय केहि हदसम्म जिल्ला दुर्घटना न्यूनीकरण भएको उनको दाबी छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रचार पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतना, सिट क्षमता आरक्षण अनुगमन, सवारीको यान्त्रिक परीक्षण लगायत सचेतनाका कार्यक्रम गरिने जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक होम बहादुर खतिवडाले जानकारी दिएका छन् ।

साताव्यापी ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख खनाल, नगर उपप्रमुख केदारबाबु बस्नेत, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, चालक, यात्रु, विद्यार्थी लगायतको सहभागीता थियो ।