ओखलढुंगामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई थप प्रभावकारी बनाइने

भिजन समाचार
0
Shares

ओखलढुंगामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउने विषयमा जिल्लास्तरीय सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार, सेवा पहुँच विस्तार तथा पुनःस्थापनाका उपायबारे छलफल गर्दै सरोकारवालाले समन्वय र सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।

जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजनामा तथा प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसन नेपालको सहकार्यमा आयोजित कार्यक्रममा करुणा फाउन्डेसन नेपालका संयोजक जनार्दन सुवेदीले संस्थाको स्थापना, उद्देश्य तथा हालसम्म सञ्चालन गरेका कार्यक्रमबारे जानकारी गराएका थिए । उनले ओखलढुंगामा अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्था, पुनःस्थापना, स्वास्थ्य तथा सामाजिक सेवामा पहुँच विस्तारका लागि भइरहेका प्रयास तथा प्रदेश सरकार र स्थानीय तहसँगको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले अपाङ्गता रोकथाम, प्रारम्भिक पहिचान र पुनःस्थापनालाई स्थानीय तहले प्राथमिकतामा राखेको उल्लेख गरे । यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । करुणा फाउन्डेनले २०८० साल देखि जिल्लामा कार्यरत रहँदा अपांगताको क्षेत्रमा धेरै राम्रा काम भएको बताउँदै आगामी माघबाट कार्यक्रम समापन भएपछि स्थानीय तह र सरोकारवाले अपनत्व लिनुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले अपाङ्गता रोकथाम र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी बनाउन सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा–सुविधा सहज रूपमा उपलब्ध गराउन स्थानीय तह, सरकारी निकाय र साझेदार संस्थाले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । साथै, अपाङ्गता भएका बालबालिका तथा विद्यार्थीका लागि प्रदेशस्तरमा छुट्टै विद्यालय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईले अपाङ्गता भएका व्यक्तिलाई समाजको मूलधारमा समेट्न सबै तहबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए ।

कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्था तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

सहभागीहरूले अपाङ्गता रोकथाम, सेवा पहुँच विस्तार, पुनःस्थापनाका चुनौती तथा आगामी कार्ययोजनाबारे दिएका सुझाव कार्यान्वयन गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाइने करुणा फाउन्डेशन नेपालका वरिष्ठ कार्यक्रम अधिकृत संयोग खतिवडाले बताएका छन् ।