नेपाली सेनाद्वारा विपद् उद्धारका नमुना अभ्यास प्रदर्शन


ओखलढुंगा । विपद्का बेला उद्धार कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाली सेनाले ओखलढुंगामा विभिन्न प्रकारका विपद् उद्धार तथा प्रतिकार्य सम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ ।

दुर्गा बक्स गण ओखलढुंगाको आयोजनामा शुक्रबार सिद्धिचरण नगरपालिका–११ को ओखलढुंगा सामुदायिक अस्पताल जाने बाटो नजिक नमुना अभ्यास प्रदर्शन गरिएको हो । कार्यक्रममा नेपाली सेना, अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

नमुना अभ्यास अन्तर्गत पहिलो चरणमा भिर वा चट्टानमा अड्किएका व्यक्तिलाई डोरीको सहायताबाट सुरक्षित स्थानमा ल्याइने ‘ट्यान्डेम रेस्क्यु’ प्रदर्शन गरिएको थियो । त्यसपछि गहिरो गल्छी तथा खोँचमा फसेका व्यक्तिलाई उद्धार गर्ने ‘हाइलाइन रेस्क्यु’ अभ्यास गरिएको थियो ।

त्यसैगरी पहिरोमा पुरिएका तथा फसेका व्यक्तिको खोज तथा उद्धारसम्बन्धी अभ्याससमेत सेनाले प्रदर्शन गरेको थियो । आगलागी नियन्त्रण र प्रतिकार्यसम्बन्धी नमुना अभ्यास पनि कार्यक्रममा समावेश गरिएको थियो ।

कार्यक्रममा विपद्का समयमा प्रयोग गरिने विभिन्न उद्धार सामग्री तथा उपकरण प्रदर्शन गर्दै ती सामग्रीको प्रयोग विधिबारे जानकारी दिइएको थियो ।

सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अरुण सापकोटा, दुर्गा बक्स गणका गणपति तथा प्रमुख सेनानी सुरेन्द्रकुमार देउजा, विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

दुर्गा बक्स गण ओखलढुंगाका गणपति एवं प्रमुख सेनानी देउजाले विपद्का समयमा खटिने जनशक्तिलाई पूर्वतयारीका रूपमा अभ्यस्त बनाउन तथा समुदायस्तरमा विपद् सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नमुना अभ्यास सञ्चालन गरिएको बताए ।