ओखलढुंगा सदरमुकाममा नेवारी परम्परागत संरचनाको पुनर्जीवन

ओखलढुंगा सदरमुकाम रामबजारमा बनेकाे हिटी र फल्चा । तस्वीर: निश्चल राजभण्डरी

आधुनिकता र सहरीकरणको चटारोमा हराउँदै गएको परम्परागत नेवारी संरचनालाई पुनर्जीवन दिन ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले फल्चा र हिटी संरचनाको निर्माण र पुनर्निर्माण थालेको छ । यस अभियानले एकातर्फ सांस्कृतिक पहिचानलाई बलियो बनाउने काम गरेको छ भने अर्कातर्फ स्थानीयलाई स्वच्छ पानी र विश्रामस्थल जस्ता आधारभूत सुविधाको सहज पहुँच दिएको छ ।

यसका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपुर्ण भूमिका खेलेको छ ।

सिद्धिचरण नगरपालिका–११ रामबजारमा हालै निर्माण सम्पन्न फल्चा र हिटी संरचना त्यसको उदाहरण हो । नगरपालिकाबाट २० लाख र वडा नं. ११ बाट पाँच लाख विनियोजन गरेर निर्माण गरिएका यी संरचनाले पैदल यात्रु, ज्येष्ठ नागरिक र मजदुर वर्गलाई छायाँयुक्त विश्रामस्थल प्रदान गर्ने सिद्धिचरण नगरपालिका–११ का वडा अध्यक्ष विनोद कुमार ताम्राकारले बताए ।

फल्चा केवल बस्ने ठाउँ मात्र होइन, सामाजिक संवाद र मेलमिलापको थलो हो । यसको पुनर्निर्माणले सांस्कृतिक एकता प्रवर्द्धन गर्ने वडा अध्यक्ष ताम्राकारको भनाई छ ।

नेवारी परम्परामा फल्चा र हिटीले सामाजिक संरचना बलियो बनाउने भूमिका खेल्ने गर्थे । समयसँगै लोप हुन थालेका यस्ता संरचनाको पुनर्जीवनले सांस्कृतिक सम्पदा संरक्षणमा योगदान दिने वडा अध्यक्ष ताम्राकारको भनाइ छ । साथै, हिटी धारा निर्माणबाट स्थानीयवासीलाई निःशुल्क स्वच्छ खानेपानीको पहुँच सहज बनाइएको छ ।

यता वडा नं. १२ मा पनि हिटी संरचनाको विस्तार गरिएको छ । वडा अध्यक्ष उमङ्ग श्रेष्ठका अनुसार, जिल्ला हुलाक कार्यालय नजिकैको हिटी धारा निर्माणमा नगरपालिकाबाट तीन लाख, वडा कार्यालयबाट आठ लाख र भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट तीन लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

ओखलढुंगा सदरमुकाम हुलाक कार्यालय नजिक बनेकाे हिटी । तस्वीर: उमंग श्रेष्ठ

वडा नं. १२ कै जिविस र सितलपुर क्षेत्रमा समेत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र वडा कार्यालयको समन्वयमा हिटी संरचना निर्माण सम्पन्न भएको छ । अध्यक्ष श्रेष्ठका अनुसार हिटी र फल्चा जस्ता परम्परागत स्रोतहरूलाई प्रविधि र सौन्दर्यसाथ जोडेर संरक्षण गर्न सके, सांस्कृतिक उत्तराधिकारको जग बलियो बनाउन सहयोगी हुन्छ ।

ओखलढुंगा सदरमुकाममा नेवारी समुदायको बाहुल्यता रहेको छ । पछिल्लो समय रोजगारी, व्यवसाय लगायत विविधि कारणले सदरमुकाम बाट पलायन हुने क्रम पनि बढ्दो छ ।